Antenna Foundation Nepal

परिचयहीन जीवन -देउकीका सन्ततिको सामाजिकीकरणमा समस्या

Posted on: December 15, 2017

- इन्द्रसरा खड्का
बैतडी ।। देहिमाडाैँका सुरेश भाटलाई आफ्नो उमेर कति भयो थाहा छैन । उनका बुबाको पनि ठेगान छैन । महेन्द्रनगरको अनाथालयमा बाल्यकाल बिताएका उनले धेरै सास्ती भोगेपछि आफ्नी आमाकी दिदी (ठूलीआमा)को नामबाट नागरिकता पाए । तर, उनको स्थायी बसोवासचाहिँ कतै पनि छैन । बैतडीको एक दुर्गम गाउँबाट ल्याएर मन्दिरमा चढाइएकी देउकी मञ्जुबाट जन्मेका हुन्, उनी ।


विकास धामी (नाम परिवर्तन)ले आफ्नी आमालाई मन्दिरमा चढाउने व्यक्तिका नामबाट नागरिकता लिए । ५० वर्षअघि उनकी आमालाई ती व्यक्तिले देउकीका रूपमा मन्दिरमा चढाएका थिए ।

सूर्नायाका हर्क धामी आज पनि मन्दिरमा नियमित काम गर्छन् । मन्दिरमा चढाइएकी आमाबाट उनीसहित पाँच दिदी–बहिनी जन्मेका थिए । दिदी–बहिनीमध्ये पनि एक जना त मन्दिरमै चढाइएकी छन् । उनकी आमालाई बैतडीको मेलौलीबाट ल्याएर स्थानीय बासुलिंग मन्दिरमा चढाइएको हो । अरू चार दिदी–बहिनीको उनैले विवाह गरिदिएका छन् । उनी  भने आज पनि बासुलिंग मन्दिरमा बिहान–साँझ सरसफाइलगायत आवश्यक काम गर्छन् ।

यी त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन्, सुदूरपश्चिमको बैतडी, दार्चुला र डडेलधुराको केही क्षेत्रमा मन्दिरमा चढाइएकी देवकन्या (देउकी)बाट जन्मिएका सन्तानको । देउकी प्रथा अहिले त छैन । तर, तिनका सन्तानले पाइरहेको सास्ती भने यथावत् छ ।  

दुई दशकअघिसम्म यस क्षेत्रमा रजस्वला हुनुभन्दा पहिलाका पाँचदेखि १२ वर्ष उमेर समूहका बालिकालाई मन्दिरमा चढाउने कुप्रथा कायम थियो । मन्दिरमा चढाइएकी बालिकाले बिहे गर्न पाउँदैनथे । भाकल गरेर मन्दिरमा चढाइएकी कन्यासँग बिहे गरे अनिष्ट हुने डर फैलाइदिएका कारण चाहेर पनि देउकीको बिहे हुन्नथ्यो ।

तर, उनीहरूबाट सन्तान जन्मिन्थे, जन्मिए । गरिबीका कारण समाजका ठूलाठालूले विपन्न आय भएका परिवारका छोरीहरूलाई किनेर मन्दिरमा चढाउने कुप्रथा थियो । त्यस्तै ठूलाठालू, साधु, पुजारी वा अरूले प्रलोभन  दिएर वा अरू नै कारणबाट उनीहरूसँग यौन सम्पर्क गरेका उदाहरण छन् । कतिपय त यसरी यौन पेसामै लागेका पनि थिए ।  बिहे गर्न नमिल्ने नियम समाजले बनाए पनि यस्ता यावत् कारणले ती देउकीहरूबाट बच्चा जन्मन्थे । तर, त्यसरी जन्मेका सन्तानले बाबुको नाम पाउँदैनथे । देउकीबाट जन्मेका सन्तानलाई स्थानीय भाषामा देउका भन्ने चलन छ ।

सामाजिक जागरण र बढ्दो चेतनाका कारण पछिल्लो समय देउकीजस्तो कुप्रथा त अन्त्य भयो । तर, तिनबाट जन्मेका सन्तान भने अझै परिचयहीन कठिन जीवन बिताउन बाध्य छन् । तिनका विषयमा कसैले चासोसमेत राखेको पाइँदैन । देउकी प्रथाका विषयमा धेरै बहस भइसकेको छ । तर, तिनबाट जन्मेका सन्तानका विषयमा कसैले पनि सोच्न आवश्यक नसम्झेको विडम्बनापूर्ण अवस्था छ ।

त्रिपुरा सुन्दरी
सामाजिक र आर्थिक रूपमा अति विपन्न स्थितिमा रहेका देउकीबारे राज्य र गैरराज्य पक्ष कसैले खोजीनीति नगर्दा देउकीका धेरै सन्तानले आज पनि नागरिकतासमेत लिन पाएका छैनन् । “देउकीबाट जन्मेका हामीजस्ता अधिकांशले अरूको नामबाट नागरिकता लिएका छौँ,” बैतडीमा होटल व्यवसाय गरिरहेका देउका धनबहादुर केसी भन्छन्, “आफ्नो पहिचान नै नभएको जीवन पनि के जीवन ?”

यो स्वाभाविक हो कि केही अपवादबाहेक कसैले पनि आफूलाई देउकीको सन्तान भन्न रूचाउँदैनन् । जतिले परिचय पाएका छन्, ती पनि आफ्नी आमालाई मन्दिरमा चढाउने व्यक्ति, आमाका दिदी–बहिनी अथवा गाउँका केही असल मान्छेको सहयोगले पाएका छन् । केसी भन्छन्, “पाँच सन्तान जन्माएर आमा बित्नुभयो, अहिले सबैको पालनपोषण मैले गरिरहेको छु । धेरैले त अहिलेसम्म पनि नागरिकता नै पाएका छैनन् ।”

गाउँघरका मन्दिरमा, कैलाली र कञ्चनपुरका अनाथालयदेखि ठूलाठालूका घरमा काम गरेर हुर्किएका देउकाका सन्तानलाई समाजमा पुन:स्थापित हुनै कठिन भइरहेको छ । देहिमाडाँैमा भाडामा बसिरहेका सुरेश भाट भन्छन्, “आफ्नो बुबा भइदिन आग्रह गर्दै घर–घर चहार्नुपर्ने कस्तो जीवन होला ?” उनका अनुभवमा समाजले बाँच्नका लागि सहयोग गरे पनि आफैँप्रति जागेर आउने घृणाले बाँच्न कठिन हुँदो  रहेछ । त्यही भएर हुनुपर्छ,  देउका समुदायबाट थोरै भए पनि पढेलेखेर राम्रै गरिरहेकाहरू पनि आफ्नो परिचय खुलाउन चाहँदैनन् र देउकीका सन्तान भन्न रुचाउँदैनन् । सानो छँदा साथीसंगीको अपहेलना, अहिले समग्र समाजको अपहेलना सहनुपर्ने पीडा व्यक्त गर्दै उनी भन्छन्, “भोलि आफ्ना सन्तानले पनि यो पीडा सहनुपर्‍यो भने कस्तो होला ? यही डरले अधिकांश देउकीका सन्तान खुल्न नचाहेका हुन् ।”

००० नागरिकता ऐन, २०६३ मा बाबु पत्ता नलागे वंशजका आधारमा नेपाली नागरिकता उपलब्ध गराइने उल्लेख छ । त्यही अनुसार बावु पत्ता नलागेकाले पनि वंशजको आधारमा नागरिकता पाउँछन् । देउकाहरू यसरी नै नागरिकता पाउने वर्गमा पर्दछन् । तर, देउकीका सन्तान बाबुको पत्तो नभएको भनेर खुल्न नचाहेका कारण धेरैले परिचयहीन जीवन बिताइरहेका छन् । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्य । उनी भन्छन्, “खुलेर आउँदा नागरिकताका लागि कुनै समस्या छैन । तर, खुल्न नचाहने र बाबुका बारे जानकारी नहुने कारणले नागरिकता पाउन समस्या देखिएको हो ।” करिब दशकअघिसम्म देउका थर लेखाएर नागरिकता लिनेको केही संख्या भए पनि अहिले भने सक्नेले अरूकै थरबाट नागरिकता लिइरहेका छन् ।

देउकीबाट जन्मेका अधिकांशले आफ्नो नागरिकता वनाइदिनेको थर प्रयोग गर्न थालेपछि अहिले यो क्षेत्रमा देउकाको संख्या कति छ भन्ने यकिन गर्न कठिन छ । त्यसैले देउकाको यकिन तथ्यांक कसैसँग पनि छैन । स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय, देउकीका विषयमा काम गरेका विभिन्न गैरसरकारी संघसंस्था (गैसस)कहीँ पनि यकिन तथ्यांक उपलब्ध छैन । तर, अनुमानअनुसार बैतडी, डडेलधुरा र दार्चुलामा देउकीबाट जन्मेका सन्तानको संख्या धेरै छ ।  र, तीमध्ये अधिकांशको जीवन अहिले पनि दयनीय छ । सामाजिक कार्यकर्ता मञ्जु भट्ट भन्छिन्,“हुने खाने वर्गका देउकीका सन्तानले आफ्ना सन्ततिको विहेवारीलगायत सामाजिक समायोजनमा पनि समस्या हुनसक्ने देखेर आफूलाई देउकीका सन्तान भनेर चिनाउन चाहँदैनन् ।” यसरी सामाजिक अपहेलनाको डरले खुल्न नचाहँदा देउकाहरूको  वास्तविक संख्या र अवस्थाबारे समाजमा धेरैलाई जानकारी छैन ।


देउकीका सन्तानलाई लक्षित गरी एक दशकअघि वैतडीको मेलौलीमा केयर सेन्टर नामक संस्थाले नि:शुल्क शिक्षा दिने कार्यक्रम संचालन गरेको थियो, जो पछि बन्द भयो ।  वैतडीको वासुलिंग र भौनेलीमा गरिवी निवारण कार्यक्रमअन्तर्गत अनिरुद्र ग्रामीण सुधार केन्द्रले आयआर्जन कार्यक्रम अन्तर्गत देउकीका सन्तानलाई आयआर्जनमा सहभागी गराएको थियो ।  २० बर्षअघि स्नेही महिला जागरण केन्द्रले देउकी कुप्रथाका विषयमा वैतडीमा काम गरेको देखिन्छ । “महिलाप्रति यो वेग्लै खाले हिंसाका विषयमा सुरुमा वैतडीमा हामीले काम गरेका हौँ,” केन्द्रकी अध्यक्ष कृष्णमाया पुन भन्छिन्, “मन्दिरजस्तो पवित्र ठाउँमा महिलाप्रति हुने हिंसा त रोकियो । तर, तिनका सन्तानको भने अहिले पनि समाजमा बिचल्ली नै छ ।” तर यो संस्थासँग पनि देउकीका सन्तानका विषयमा कुनै तथ्यांक भने छैन ।

मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायक समाजबाट यो चलन धेरै पहिले नै हटिसकेकाले यस विषयमा कसैको पनि रूचि नभएको बताउँछन् । उनी स्थानीय तहबाट देउकीका सन्तानका लागि कुनै कार्यक्रम नराखिएको बताउँछन् । नायक भन्छन्,“देउका–देउकी भन्नेबित्तिकै समुदायका मानिस नै आक्रोसित हुने गरेका छन्, अनि कसरी छुट्टै कार्यक्रम राख्न सकिन्छ ?”

समाजमा रहेको कहालीलाग्दो देउकी कुप्रथा समाप्त भइसकेको छ । कुनै समय यो प्रथा कायम रहेका क्षेत्रका जनप्रतिनिधि पनि यस विषयमा धेरै कुरा गर्न चाहँदैनन् । समयसँगै सबै कुरा ठीक भइरहेको छ भने फेरि यो कुप्रथालाई कोट्याएर देउकीबाट जन्मेका सन्तानहरूले अपहेलना सहनुपर्ने अवस्थाको सिर्जना किन गर्नु भन्ने उनीहरूको भनाइ छ । “अढाई दशक यता कसैले पनि मन्दिरमा देउकी चढाएको सुनिएको छैन”, वैतडीको प्रख्यात निंगलासैनी मन्दिरका मुखिया मानवहादुर बोहरा बताउँछन् । यस मन्दिरका पुजारी देवदत्त भट्ट पनि यसरी कन्यालाई मन्दिरमा चढाउने प्रथा हटेको बताउँछन् । भन्छन्,“समाज शिक्षित भयो, महिलाहरू पनि शिक्षित भए, केही हदसम्म भोकमरी र गरिवी पनि हट्यो । त्यसैले यो कुप्रथा समाप्त भयो ।” बाबुबाजेहरूले मन्दिरमा कन्या चढाउने भाकल गरेकाहरूका सन्तानले पनि सुन या चाँदीको प्रतिमा वनाएर चढाउने नयाँ चलन चलेको छ अहिले ।

पछिल्लो पुस्ताका केही देउकी अझै पनि बैतडी, दार्चुला र डडेलधुरामा जीवितै छन् । सुदूरपश्चिमको संस्कृतिका विषयमा विद्यावारिधि गरेका  त्रैलोक्यनाथ जोशी भन्छन्,“देवकन्या प्रथा राजधानीको कुमारी प्रथाजस्तै हो तर पछि यो विकृत भएर देउकी प्रथा वन्न पुग्यो ।” झन्डै तीन सय वर्षजति यो कुप्रथाले समाजमा गाडेको जरा अन्तत: उन्मूलन भयो । अब बाँकी छ त, त्यस प्रथाको सहउत्पादन देउकाका समस्या निदानको ।

 Antenna Foundation Nepal र Free Press Unlimited का लागि इन्द्रसरा खड्काले तयार पारेकाे देउका सम्बन्धि खााेजमुलक सामग्री
http://nepal.ekantipur.com/news/2017-11-29/20171129181247.html


Share this on

Latest Updates

2018-08-13

AFN media production OJT underway

Antenna Foundation Nepal (AFN) started the 'On-the-Job Training (OJT)’ for...

2018-02-04

AFN organizes knowledge sharing workshop for media managers

Kathmandu, Jan 9- Antenna Foundation Nepal (AFN) organized a two-day...

Latest Radio Programs

Bikash Ko Bato

2017-11-03

Bikash Ko Bato

"विकासको बाटो"

Nepal Chautari

2017-11-03

Nepal Chautari

विभिन्न स्थानिय रेडियो र एण्टेना फाउण्डेसन नेपालको...

Hello Tiger

2017-07-17

Hello Tiger

वन र वन्यजन्तु संरक्षणमा समुदायको भुमिका

Antenna Foundation Nepal

GPO Box 24225
Kusunti Marg, Jawalakhel, Lalitpur
(+977-01) 5530760, 5530080, 5530081
(+977-01) 5545857
5525471(IVR), 16600134567 (IVR) antenna@afn.org.np
www.afn.org.np